कोरिया जान भाषा पास गरेर पनि ‘रोष्टर’मा थुनिएका युवा सडकमा, इपीएस कार्यालय अगाडि प्रदर्शन

काठमाडौँ, १६ पुस । दक्षिण कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेर पनि लामो समयसम्म जान नपाएका युवाहरू पुन: आन्दोलनमा उत्रिएका छन् ।

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखा अगाडि बुधबार भेला भएर उनीहरूले आफ्नो भविष्यमाथि खेलबाड भएको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

भाषा परीक्षा पास गरेर ‘रोष्टर’ (कोरिया जाने प्रतीक्षा सूची) मा रहेका १० हजारभन्दा बढी युवाहरूको भविष्य अन्योलमा परेको भन्दै उनीहरूले ९ बुँदे माग अघि सारेका छन् ।

आन्दोलित युवाहरूका अनुसार सन् २०२२ देखि हालसम्म भाषा परीक्षा उत्तीर्ण गरेर पनि करिब १५ हजार युवा रोष्टरमा अलपत्र छन् । ईपीएस कार्यालय र कोरियाको मानव संशाधन विभाग (HRD) ले आवश्यकताभन्दा तीन गुणा बढी विद्यार्थीलाई भाषा परीक्षा उत्तीर्ण गराउने तर लैजाने बेला अत्यन्तै कम संख्या मात्र छनोट गर्ने गरेका कारण यो समस्या आएको उनीहरूको आरोप छ ।

आन्दोलित विद्यार्थीहरूका अनुसार कृषि र सीप क्षेत्रका फाइलहरू एकपटक पनि कम्पनीमा नपुगी २ वर्षको रोष्टर अवधि समाप्त हुन लागेको छ । उनीहरूले सीवीटी (CBT) को फाइल नयाँ कम्पनीमा पठाउनुपर्ने, रोष्टरको म्याद थप गर्नुपर्ने र आवश्यक परे ‘सेक्टर’ परिवर्तन गरेर भए पनि कोरिया लैजाने सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।

पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारी निकायले चासो नदेखाएपछि बाध्य भएर सडकमा उत्रिनु परेको युवाहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *