जाजरकोटमा सिकार खेल्ने क्रममा युवकको मृत्यु: ५ जना हतियारसहित पक्राउ
सुर्खेत, १६ पुस । जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जङ्गलमा सिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
गत पुस १३ गते भएको उक्त घटनामा स्थानीय प्रचण्डदेव सिंहको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक सिंहसहित ६ जनाको टोली सिकार खेल्न जङ्गल गएको थियो । पक्राउ पर्नेहरूमा बारेकोट–८ कै ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र ३१ वर्षीय लालबहादुर सिंह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीरकुमार खड्काले दिएको जानकारीअनुसार पक्राउ परेकाहरूको साथबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामद गरिएको छ ।
प्रहरीले पक्राउ परेका पाँचै जना विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी खड्काले बताउनुभयो ।