जाजरकोटमा सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु
काठमाडौँ, पुस १७ । जाजरकोटको बारेकोट गाउँपालिका-८ मा सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ । गत पुस १३ गते ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जनाको टोली सिकारका लागि निस्किएका थिए । सोही क्रममा सिंहको मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार, घटनास्थल नजिकै लुकाइएको अवस्थामा भरुवा बन्दुक र अन्य हातहतियार फेला परेपछि घटनामा संलग्न अन्य पाँच जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा बारेकोट-८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंह रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट तीन थान भरुवा बन्दुक, दुई थान चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान धातुका टुक्रा बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।