मनास्लुमा झुम्मिए पर्यटक: एक वर्षमा १५ हजार विदेशीद्वारा भ्रमण, करिब ४ करोड राजस्व
गोरखा, १८ पुस । प्राकृतिक विपत्ति र राजनीतिक अस्थिरताका बाबजुद गोरखाको मनास्लु क्षेत्रमा पर्यटकीय गतिविधिले नयाँ उचाइ लिएको छ। सन् २०२५ मा करिब १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन्। यो सङ्ख्या अघिल्लो वर्ष सन् २०२४ को तुलनामा उल्लेख्य वृद्धि हो।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ भरि कुल १४ हजार ९८० पर्यटक यस क्षेत्रमा भित्रिएका छन्। तीमध्ये १४ हजार ७३८ अन्तर्राष्ट्रिय पर्यटक, ३४४ सार्क राष्ट्रका र २४० जना नेपाली पर्यटक रहेका छन्। सन् २०२४ मा यस क्षेत्रमा १२ हजार ८०० विदेशी पर्यटकले भ्रमण गरेका थिए।
बेमौसमी बाढी–पहिरो, अत्यधिक हिमपात र मुलुकमा भएको जेनजी (Gen-Z) आन्दोलनका कारण पर्यटन क्षेत्र प्रभावित हुने आशङ्का गरिए पनि मनास्लुमा पर्यटकको आगमन सुखद रहेको एमक्याप प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो। उहाँका अनुसार पर्यटकको यो सङ्ख्या वृद्धि भएसँगै राजस्व सङ्कलनमा पनि बढोत्तरी भएको छ। सन् २०२५ मा पर्यटक प्रवेश शुल्कबापत ३ करोड ८५ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार, अन्य विदेशीले ३ हजार र नेपाली पर्यटकले १ सय रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था छ। एमक्याप प्रमुख शेरचनले भन्नुभयो, “मनास्लुमा बर्सेनि पर्यटकको सङ्ख्या बढ्दो छ। यदि स्रोतसाधनको उचित प्रयोग र राम्रो व्यवस्थापन गर्ने हो भने यो क्षेत्र नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ।”
विगतका वर्षहरूको तुलनामा सन् २०२५ को तथ्याङ्क निकै उत्साहजनक छ। कोभिड महामारीको समय अर्थात् आव २०७७/७८ मा यहाँ जम्मा १९४ जना पर्यटक मात्र आएका थिए भने गत आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७८२ पर्यटकले भ्रमण गरेका थिए। सन् २०२५ बाट एमक्यापले विदेशीसँगै स्वदेशी पर्यटकको विवरणसमेत राख्न थालेको छ।