अस्ट्रेलियन ओपनमा सहभागी हुने शिभालीको विदाइ
काठमाडौं, पुस १८ गते । ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा सहभागी हुने नेपाली युवा टेनिस खेलाडी शिभाली गुरुङलाई शुक्रबार विदाइ गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
शिभालीलाई शुक्रबारै भाटभटेनी सुपरस्टोरले पनि शुभकामनासहित बिदाइ गरेको छ । सो कार्यक्रममा शिवालीले अस्ट्रेलियन ओपनमा खेल्न उत्साहित भएको र आप्mनो शतप्रतिशतका साथ प्रतिस्पर्धा गर्ने बताउनुभयो । शिवालीलाई गत वर्षदेखि भाटभटेनीले प्रायोजन समेत गर्दै आएको छ । सो कार्यक्रममा भाटभटेनीका हेड अफ बिजनेस डेभलपमेन्ट आलोक जोशी, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल्मसँगै पूर्वसांसद सोवित गुरुङलगायत व्यक्तिहरूको उपस्थिति थियो ।
अष्ट्रेलियाको मेलवर्नमा हुने प्रतियोगिता सन् २०२६ को जनवरी १४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । विश्वका चार ग्रान्डस्लाममध्ये हार्डकोर्टमा खेलिने अस्ट्रेलियन ओपन पहिलो प्रतियोगिता हो । अहिलेसम्म नेपाली खेलाडीले ग्रान्डस्लाममा सहभागिता जनाएको छैन । शिभाली ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी हुनुहुन्छ ।