भीमफेदी सुमो दुर्घटना: ज्यान गुमाउने ६ मध्ये ५ जनाको पहिचान खुल्यो (नामावलीसहित)

मकवानपुर, २१ पुस । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी–कुलेखानी सडकखण्डमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये पाँच जनाको सनाखत भएको छ ।

भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सो दुर्घटनामा ज्यान गुमाउनेको सोमबार बिहानसम्म पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार मृत्यु हुनेमा तीन जना नेपाली र दुई जना भारतीय नागरिक रहेका छन् ।

मृत्यु हुनेहरूमा:
१. सबिता लम्साल (४० वर्षीया), हेटौँडा–४, कमलडाँडा
२. निखिल अग्रवाल (२९ वर्षीय), हेटौँडा–२, कान्तिराजपथ
३. कृष्णप्रसाद फुँयाल (५६ वर्षीय), हेटौँडा–१०, भुटनदेवी टोल
४. अरबिन्द कुमार (५० वर्षीय), बेगुसराई, बिहार (भारत)
५. रजनिस कुमार (४२ वर्षीय), पटना, बिहार (भारत)

दुर्घटनामा ज्यान गुमाएका अर्का एक पुरुषको भने अझै पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा सुमो चालक हेटौँडा–४ का ४५ वर्षीय गणेश थापा र मृतक सबिताकी १२ वर्षीया छोरी अभ्यास लम्साल रहेका छन् । उनीहरू दुवैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका–२ की २१ वर्षीया रिचा चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साँझ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनालगत्तै उद्धार गरी घाइतेहरूलाई हेटौँडा अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा गएराति ६ जनाको मृत्यु भएको थियो । तीब्र गतिका कारण वा अन्य प्राविधिक कारणले दुर्घटना भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।