निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ: सामाजिक सञ्जालको दुरुपयोग रोक्न विशेष संयन्त्र बनाइने

काठमाडौँ, २२ पुस । निर्वाचन आयोगले आसन्न निर्वाचनका क्रममा सूचना प्रविधिको दुरुपयोग र सामाजिक सञ्जालबाट हुने मिथ्या प्रचारलाई रोक्न विशेष संयन्त्र निर्माण गर्ने भएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले डिजिटल प्लेटफर्ममार्फत प्रवाह हुने भ्रमपूर्ण सूचना, द्वेषपूर्ण अभिव्यक्ति र मिथ्या जानकारीलाई नियन्त्रण गर्न प्रभावकारी संयन्त्रको आवश्यकता औँल्याएको हो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिम गठित समितिको बैठकले यसपटक आचारसंहिता कार्यान्वयनलाई थप कडा र प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।

बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न आयोगले सबै संयन्त्र परिचालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आचारसंहिता कार्यान्वयनमा प्रविधिको दुरुपयोग रोक्न नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँगको सहकार्य अपरिहार्य छ ।”

त्यस्तै, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले राजनीतिक दलहरूसँगको परामर्शमा आचारसंहिता लागू गरिने जानकारी दिँदै निर्वाचनको निष्पक्षतामा आँच पुर्‍याउने भ्रमपूर्ण जानकारी न्यूनीकरणमा आयोग सचेत रहेको बताउनुभयो ।

समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुन शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता कार्यान्वयनका लागि तीनवटा प्रमुख विधि अपनाउने निष्कर्ष निकालेको छ:
१. सचेतनामूलक: मतदाता र उम्मेदवारलाई आचारसंहिताका बारेमा शिक्षित गराउने ।
२. प्रवर्द्धनात्मक: सकारात्मक र स्वच्छ निर्वाचन वातावरण निर्माण गर्ने ।
३. दण्डात्मक: आचारसंहिता उल्लंघन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने ।

समितिका संयोजक जबराले विगतका कमजोरीबाट पाठ सिक्दै यसपटक आचारसंहिता कार्यान्वयनमा गुणात्मक सुधार ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि सूचना प्रविधिको दुरुपयोग रोक्नु नै मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा आचारसंहिताको प्रभावकारी परिपालनाका लागि अन्तर-निकाय समन्वयमा जोड दिइएको जानकारी दिनुभयो ।