कांग्रेस–एमाले सहकार्यबाट सरकार र विदेशी शक्ति तर्सिए, निर्वाचन सार्ने षड्यन्त्र हुँदैछ : अध्यक्ष ओली

काठमाडौँ, २२ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमालेबीचको बढ्दो सामीप्यताका कारण सरकार र केही बाह्य शक्तिहरू निर्वाचन सार्ने षड्यन्त्रमा लागेको दाबी गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको सचिवालय बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनुभएको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक समीकरण फेरबदल हुने डरले निर्वाचनलाई अनिश्चित बनाउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा अझै निर्वाचनको सुनिश्चित वातावरण बनिसकेको छैन । एमाले र कांग्रेस नजिकिएपछि सरकार र विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने खेलमा लागेका छन् ।”

अध्यक्ष ओलीले न्यायपालिकामाथि पनि गम्भीर प्रहार भइरहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिने काम भइरहेको दाबी गर्नुभयो । राज्यका महत्वपूर्ण अंगहरूलाई स्वतन्त्र रूपमा काम गर्न नदिई प्रभावित पार्न खोजिएको उहाँको टिप्पणी थियो ।

ब्रिफिङका क्रममा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । बाह्य हस्तक्षेप र आन्तरिक षड्यन्त्रका कारण राष्ट्रियता कमजोर पार्ने प्रयास भइरहेको भन्दै उहाँले यसविरुद्ध पार्टीले खबरदारी गर्ने बताउनुभयो ।