गोंगबुको होटलमा प्रहरीको छापा: ६ ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
काठमाडौँ, २२ पुस । काठमाडौँको गोंगबुस्थित एक होटलबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका–९ स्थित दीपसागर होटलमा गएराति प्रहरीले छापा मारेको थियो ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङ ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन् । उनीहरूको साथबाट ६ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग गोंगबुको टोलीले होटलको कोठा नम्बर ५१५ मा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा उक्त लागुऔषध फेला पारेको थियो । पक्राउ परेका दुवैमाथि लागुऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान अघि बढाइएको छ ।
यसैबीच, प्रहरीले देशभरका विभिन्न स्थानबाट लागुऔषधसहित थप २५ जनालाई नियन्त्रणमा लिएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापा, दाङ, सुनसरी, मोरङ, रूपन्देही, सिराहा र कैलाली लगायतका जिल्लाहरूमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् ।