बर्दियाको बढैयातालमा ३७ वर्षीय युवक मृतावस्थामा फेला

काठमाडौँ, पुस २२ । बर्दियाको बढैयाताल गाउँपालिका-८ दैलेखी टोलमा एक युवक मृतावस्थामा फेला परेका छन् । स्थानीय ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार सार्की सोही टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा मृत भेटिएका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सार्कीको मृत्यु अत्यधिक मदिरा सेवनका कारण पोखरीमा खसेर भएको हुनसक्ने देखाएको छ । “मृतकको शरीरमा कुनै बाह्य चोटपटक देखिएको छैन,” प्रहरी निरीक्षक गिरीले भन्नुभयो, “मदिराको नशामा पोखरीमा खस्दा मृत्यु भएको हुनसक्ने हाम्रो अनुमान छ, यद्यपि यथार्थ विवरण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ ।”

स्थानीयका अनुसार श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि मृतक सार्की विगत केही समयदेखि आफ्ना दाजुसँग बस्दै आएका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि शवलाई परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल बर्दिया पठाएको छ । घटनाबारे प्रहरीले सूक्ष्म ढङ्गले खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *