राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध उजुरी दिने समय आज, यस्तो छ आगामी कार्यतालिका

काठमाडौँ, २४ पुस । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूविरुद्ध आज उजुरी दिन सकिने भएको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारीमाथि दाबी विरोध र उजुरीका लागि आजको समय निर्धारण गरिएको हो ।

हिजो (बुधवार) सातै प्रदेशका राजधानीमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको थियो ।

निर्वाचन आयोगको कार्यतालिका:
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियालाई तीव्रता दिँदै आयोगले देहाय बमोजिमको तालिका सार्वजनिक गरेको छ:
पुस २४ गते (आज): उम्मेदवारविरुद्ध उजुरी दिने ।
पुस २५ र २६ गते: मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने ।
पुस २७ गते: उम्मेदवारी फिर्ता लिने समय र उम्मेदवारको अन्तिम नामावली प्रकाशन ।
पुस २८ गते: उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने ।

४४ जनाको उम्मेदवारी:
राष्ट्रिय सभाका रिक्त १८ सिटका लागि कुल ४४ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले सातै प्रदेशबाट आ-आफ्नो मनोनयन दर्ता गराएका हुन् । यी रिक्त पदका लागि आगामी माघ ११ गते मतदान हुनेछ ।

यसैबीच, मुलुकमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी पनि बढ्दै गएको छ । आगामी फागुन ११ गते हुने तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि अब ५७ दिन मात्र बाँकी रहेको छ । निर्वाचन आयोगले दुवै तहका निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जनाएको छ ।