कांग्रेस विवाद उत्कर्षमा: रमेश लेखकको प्रस्ताव गगन थापाद्वारा अस्वीकार, रातभरको छलफल निष्कर्षविहीन

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि संस्थापन र इतर पक्षबीच भएको सघन वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ।

पार्टी विभाजनको खतरा बढेपछि निकास निकाल्न महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीच रातभर छलफल भए पनि कुनै सहमति जुट्न सकेन।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग अघि सारेपछि कांग्रेसभित्रको शक्ति सङ्घर्षले नयाँ मोड लिएको छ। यही सङ्कट टार्न नेताहरूबीच मध्यरातसम्म संवाद भएको थियो।

नेता प्रकाश स्नेही रसाइलीका अनुसार संस्थापन पक्षको तर्फबाट रमेश लेखकले विवाद समाधानका लागि केही प्रस्तावहरू महामन्त्री थापासमक्ष राखेका थिए। तर, ती प्रस्तावहरूले आफूहरूको माग र पार्टीको वर्तमान आवश्यकतालाई सम्बोधन नगर्ने भन्दै महामन्त्री थापाले अस्वीकार गरिदिएका छन्।

‘उहाँहरूबीच विभिन्न माध्यमबाट छलफल भइरहेको छ, तर अहिलेसम्म सहमति जुटेको छैन,’ नेता रसाइलीले भन्नुभयाे ।

महामन्त्रीहरूले विशेष महाधिवेशनको कार्ड फ्याँकेपछि संस्थापन पक्ष रक्षात्मक बनेको छ भने पार्टीभित्र दुई धार प्रस्ट देखिएको छ। यसले कांग्रेसलाई विभाजनको सङ्घारमा पुर्‍याएको विश्लेषण हुन थालेको छ।

संस्थापन पक्षले लेखकलाई दूत बनाएर महामन्त्री थापालाई मनाउने प्रयास गरे पनि थापा आफ्नो अडानबाट पछि नहटेपछि विवाद झन् जटिल बनेको हो। लेखकले ल्याएको प्रस्तावको विस्तृत विवरण भने दुवै पक्षले गोप्य राखेका छन्।

कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरूले पार्टीलाई एकजुट राख्न नेतृत्वलाई दबाब दिइरहेका बेला शीर्ष नेताहरूबीचको यो ‘डेडलक’ले आगामी रणनीति तय गर्न दुवै पक्षलाई सकस परेको छ।