तनहुँमा तीन जनाको बीभत्स हत्या: फोहरमैला केन्द्र नजिकै भेटिए तीन शव, तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिँदै
दमौली (तनहुँ), २७ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा तीन जनाको बीभत्स हत्या भएको छ। शनिबार बिहानैदेखि सुरु भएको शव फेला पर्ने क्रमसँगै यो शान्त बस्ती अहिले शोक र त्रासको सन्नाटामा डुबेको छ।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएका दुई पुरुष र एक महिलाको शव फेला परेपछि प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको छ।
यसरी खुल्यो घटना
शनिबार बिहान करिब साढे ९ बजेतिर निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रका एक कर्मचारीले केन्द्रको कम्पाउण्ड बाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा दुवै पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
मृतकमध्ये एक जनाको पहिचान खुलेको छ। उनी शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक हुन्। उनी फोहरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुन् र विगत एक महिनादेखि त्यहीँ बसेर काम गर्दै आएका थिए।
अर्का मृतक पुरुषको भने पहिचान खुल्न सकेको छैन। उनी प्रशोधन केन्द्र नजिकै टहरा बनाएर एक महिलासँग बस्दै आएका थिए।
दुई पुरुषको शव भेटिएपछि टहरामा सँगै बस्ने महिला बेपत्ता भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो। खोजीकै क्रममा दिउँसो १२ बजेतिर ती महिलाको पनि शव फेला परेको हो। पुरुषको शव भेटिएको स्थानभन्दा करिब ७०० मिटर टाढा जनकल्याण माध्यमिक विद्यालय पछाडिको जङ्गलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
हत्या गरिएका ती अपरिचित महिला र पुरुष विगत एक वर्षदेखि त्यहाँ बस्दै आएका र कबाडी संकलनको काम गर्ने गरेका थिए।
वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार घटनास्थलको दृश्य अत्यन्तै हृदयविदारक छ। मृतक नारायण विकको पेट र टाउकोमा गम्भीर चोट छ भने अर्का अपरिचित पुरुषको पेटमा प्रहार गर्दा आन्द्रा नै बाहिर निस्किएको अवस्थामा थियो। जङ्गलमा भेटिएकी महिलाको भने घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।
अनुसन्धानमा खटियो प्राविधिक टोली र कुकुर
घटनाको गम्भीरतालाई हेर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख (एसपी) टेकबहादुर कार्की आफैं घटनास्थलमा खटिएका छन्। अनुसन्धानलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली र तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले घटना शंकास्पद रहेको र दोषीको पहिचानका लागि तीव्र खोजी भइरहेको जानकारी दिए। हालसम्म हत्याको कारण खुल्न सकेको छैन। प्रहरीले शवहरू पोष्टमार्टमका लागि पठाउने तयारी गर्दै घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।