सिमलतालमा पहिरोकाे ६ महिनापछि त्रिशूली किनारमा भेटिएकाे बसको उत्खनन जारी, ‘गणपति डिलक्स’ भएको आशंका
तनहुँ, २८ पुस । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमध्ये एउटा बसको अवशेष तनहुँमा फेला परेको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५ स्थित दुन्द्राङबेँसीमा नदी किनारमा बसको केही भाग पुरिएको अवस्थामा भेटिएपछि प्रहरीले उत्खनन कार्यलाई तीव्रता दिएको हो ।
आइतबार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा बसको अगाडिको भाग देखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उत्खननमा जुटेको थियो । हिजो दिनभर प्रयास गर्दा पनि बसलाई पूर्ण रूपमा निकाल्न नसकिएकाले आज (सोमबार) पुनः उत्खनन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गणपति डिलक्स हुनसक्ने अनुमान
प्रहरीका अनुसार फेला परेको बस गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेको ‘गणपति डिलक्स’ हुनसक्ने बलियो सम्भावना छ । काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको सो बस ६ महिनादेखि बेपत्ता थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले भन्नुभयो, “नदी किनारमा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको छ । यो गणपति डिलक्स नै हुनसक्ने हाम्रो अनुमान छ, तर पूर्ण रूपमा उत्खनन गरेर ननिकालुन्जेल नम्बर र अन्य विवरण यकिन गर्न सकिने अवस्था छैन ।”
बस फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा गरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन् ।
गत असार २८ गतेको सो भीषण दुर्घटनामा दुई वटा बस त्रिशूलीमा खसेका थिए । जसमा ६० भन्दा बढी यात्रु बेपत्ता भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि बसको पत्तो लाग्न सकेको थिएन । अहिले फेला परेको अवशेषले दुर्घटनाबारे थप तथ्य खुल्ने र बेपत्ता परिवारले केही जानकारी पाउने अपेक्षा गरिएको छ ।