कोरला नाकाबाट सवा २ करोडको अवैध भेप बरामद, चालक पक्राउ

मुस्ताङ, २९ पुस । उत्तरी सीमा नाका कोरलाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ। सोमबार साँझ सुरक्षा निकाय र भन्सार कार्यालयको संयुक्त टोलीले करिब २ करोड २४ लाख रुपैयाँ मूल्य बराबरको भेप बरामद गरेको हो।

विशेष सूचनाका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयको टोलीले ना ६ ख ७५९१ नम्बरको कन्टेनर खानतलासी गर्दा १६ हजार थान भेप फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनरसहित चालक पेमा लामालाई नियन्त्रणमा लिइएको छ। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भएका लामामाथि थप अनुसन्धान भइरहेको छ।

कोरला नाका व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै तस्करीका घटना पनि बढ्न थालेका छन्। गत वर्ष मात्रै यसै नाकाबाट ६ करोड ८१ लाख रुपैयाँ बराबरको भेप बरामद गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *