समानुपातिकतर्फ १६४ उम्मेदवारले लिए नाम फिर्ता, लोसपा र जसपाको सूचीमा ठूलो हेरफेर

काठमाडौँ, २९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको बन्दसूचीमा रहेका १६४ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार, नाम फिर्ता लिनेहरूमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७८ जना रहेका छन्।

लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच पार्टी एकता भएकाले लोसपाको सूचीबाट नाम फिर्ता गराई जसपाको नयाँ सूचीमा व्यवस्थापन गर्न लागिएको आयोगले जनाएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, जसपाका २१, जनमत पार्टीका २०, राप्रपाका १२ र नेकपा एमालेका ५ जनाले नाम फिर्ता लिएका छन्। यस्तै, माओवादी केन्द्र, नेपाली कांग्रेस र रास्वपाका क्रमशः ४, २ र २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

नाम फिर्ता लिएका ठाउँमा सम्बन्धित दलले नयाँ नाम पठाउनुपर्नेछ। आयोगले माघ ४ गते उम्मेदवारको संशोधित बन्दसूची सार्वजनिक गर्नेछ। आगामी माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *