तुलसीपुर प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु, लागु औषध मुद्दामा जेलमा थिए २५ वर्षीय चौधरी
दाङ, ३० पुस । दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवाको आज (बुधबार) बिहान मृत्यु भएको छ ।
लागु औषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका दङ्गीशरण गाउँपालिका–४ बैँबाङका २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हुमबहादुर पराजुलीका अनुसार आज बिहान करिब ९ बजेतिर चौधरी हिरासत कक्षमै एक्कासी बेहोस भएका थिए । उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक चौधरीलाई गएको मङ्सिर २८ गते तुलसीपुर बसपार्कबाट ५ दशमलव १० मिलीग्राम लागु औषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध लागु औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको थियो ।
हिरासतभित्रै थुनुवाको मृत्यु भएपछि घटनालाई लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने अस्पताल स्रोतले जनाएको छ ।