कांग्रेस विशेष महाधिवेशन: सभापतिमा गगन थापा निर्विरोध निर्वाचित, भने– कसैको शिर निहुरिन दिने छैन

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बिहान निर्वाचन समितिका संयोजक सीताराम केसीले थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।

सभापतिमा निर्वाचित भएलगत्तै महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सम्बोधन गर्दै थापाले पार्टीको सान र गरिमालाई उँचो राख्ने सङ्कल्प गरे ।

‘जुन विश्वासका साथ तपाईँहरूले मलाई सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, म कसैको पनि शिर निहुरिन दिने छैन,’ नवनिर्वाचित सभापति थापाले भने, ‘नेपाली कांग्रेसको शान राख्छु र पार्टीका तमाम साथीहरूले ‘म कांग्रेस हुँ’ भन्दा गौरव गर्ने वातावरण बनाउँछु ।’ उनले अबको कांग्रेस नागरिकको अप्ठ्यारोको साथी बन्ने समेत उद्घोष गरे ।

थापाले यस विशेष महाधिवेशनलाई आधुनिक नेपालको राजनीतिक इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो ‘हस्तक्षेप’ का रूपमा चित्रण गरे । उनले भने, ‘भुइँ तहका कार्यकर्ता भनेका जनताका प्रतिनिधि हुन् । यो महाधिवेशनमार्फत नागरिकले राजनीतिक दलभित्र हस्तक्षेप गरेका छन्, जुन लोकतन्त्रका लागि सुखद पक्ष हो ।’

संस्थापन पक्षले विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै आएको छ तर पार्टी विभाजनको चर्चासंगै थापाले विधानको व्यवस्था अनुसार नै वैधानिक रूपमा विशेष महाधिवेशन आयोजना गरिएको भन्दै उनले यसलाई विभाजनको रूपमा नबुझ्न आग्रह गरे ।

सभापति पदमा थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन् । यससँगै कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशामा ठूलो फेरबदल आउने सङ्केत देखिएको छ ।