वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ,  माघ १ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने प्रलोभन देखाई करिब २९ लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-५ की ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१० का ३० वर्षीय अभिशेष कराला र अर्घाखाँचीको मालारानी गाउँपालिका-१ का ४६ वर्षीय चेतनारायण आचार्य रहेका छन् ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-७ का ४९ वर्षीय रेशमलाल लामा तामाङ र काठमाडौँ महानगरपालिका-१७ की ४२ वर्षीया निलिमा श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले पीडितहरूबाट कुल २८ लाख ७० हजार रुपियाँअसुल गरी सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।