३३ किलो सुन काण्ड र सनम शाक्य हत्याका फरार आरोपी गौतम ६ वर्षपछि पक्राउ

काठमाडौँ, १ माघ । बहुचर्चित ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा संलग्न भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले हत्या आरोपी ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ घर भएका गौतम लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए ।

के थियो घटना?
मोरङ उर्लाबारीका सनम शाक्यको विसं २०७४ फागुन १८ गते बीभत्स हत्या भएको थियो । सुन तस्करीको क्रममा हराएको ३३ किलो सुन खोज्ने क्रममा शाक्यलाई कुटपिट र करेन्ट लगाएर हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो । सो प्रकरणका मुख्य अभियुक्त चुरामणि उप्रेती (गोरे) लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

थप अनुसन्धानका लागि मोरङ पठाइयो
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार काठमाडौँमा पक्राउ परेका गौतमलाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।

शाक्य हत्या र सुन तस्करीको यो मुद्दाले नेपालको सुरक्षा निकाय र राजनीतिक वृत्तमा ठूलो हलचल ल्याएको थियो । फरार अभियुक्तहरू एकपछि अर्को गर्दै कानुनी दायरामा आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।