कांग्रेस आधिकारिकता विवाद उत्कर्षमा: बहुमत केन्द्रीय सदस्यसहित संस्थापन पक्ष स-शरीर निर्वाचन आयोगमा
काठमाडौँ, २ माघ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद कानुनी लडाइँको चरणमा प्रवेश गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्यहरू शुक्रबार बिहान स-शरीर निर्वाचन आयोग पुगेका हुन् ।
आयोग परिसरमा कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, सह-महामन्त्रीहरू तथा नेता शेखर कोइरालासहितका शीर्ष नेता र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ । उनीहरूले वर्तमान कार्यसमिति नै वैधानिक रहेको र यसको विकल्पमा आएका अन्य दाबीहरू अवैध रहेको जिकिर गर्दै आयोगलाई प्रमाण पेश गरेका छन् ।
संस्थापन पक्षका नेताहरूले आयोगसमक्ष पार्टीको विधानबमोजिम विशेष महाधिवेशन आह्वान नै नभएको अवस्थामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा गरिएको भनिएको कार्यसमिति पूर्णतः ‘अवैध’ र ‘अवैधानिक’ रहेको जानकारी गराएका छन् ।
‘पार्टीको विधिवत् प्रक्रिया र विधानभन्दा बाहिर गएर बनाइएको भनिएको कार्यसमितिलाई मान्यता दिन सकिँदैन । देउवा नेतृत्वकै कमिटी आधिकारिक रहेको स्पष्ट पार्न हामी बहुमत सदस्यसहित आयोगमा उपस्थित भएका हौँ,’ आयोग पुगेका एक नेताले बताए ।
यसअघि बिहीबार महामन्त्री गगन थापा नेतृत्वको पक्षले निर्वाचन आयोगमा निवेदन दिँदै पार्टीको कार्यसमिति अद्यावधिक गर्न र टिकट वितरणमा देउवाको अधिकार हटाउन माग गरेको थियो । दुवै पक्षले आयोगमा आ-आफ्नो दाबी पेश गरेसँगै कांग्रेसको आन्तरिक विवाद अब निर्वाचन आयोगको निर्णयमा निर्भर हुने देखिएको छ ।