प्रतिनिधिसभा निर्वाचन: एमालेले बुझायो ५ समानुपातिक उम्मेदवारको नयाँ नाम
काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा रिक्त रहेका स्थानमा नयाँ उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । नाम फिर्ता लिएका ५ जना उम्मेदवारको सट्टामा नयाँ नाम समावेश गरी एमालेले शुक्रबार निर्वाचन आयोगमा संशोधित सूची पेश गरेको हो ।
एमाले स्रोतका अनुसार धादिङका लक्ष्मणकुमार शर्मा, इलामकी सरस्वती राई, रौतहटकी सरस्वती कुमारी, मकवानपुरका मेम्बरबहादुर लो र बैतडीका महादेव भट्टलाई विभिन्न क्लष्टरअन्तर्गत उम्मेदवार बनाइएको छ ।
यसअघि बन्दसूचीमा रहेका पाल्पाकी हिरुसरा राना, नुवाकोटका विजय लोप्चन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुफकुमार बास्तोला र बझाङका लालबहादुर रावलले उम्मेदवारी फिर्ता लिएपछि ती स्थान रिक्त भएका थिए ।
यस्तै, राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका झापाका सोमनाथ पोर्तेल र कैलालीकी लीलाकुमारी भण्डारीले पनि समानुपातिकतर्फको सूचीबाट नाम फिर्ता लिएका छन् । उनीहरूको स्थानमा दैलेखकी सत्यदेवी खड्का र दोलखाका टेकबहादुर घतानीको नाम पठाइएको छ ।
यसअघि सुर्खेतका बालाराम शर्माले प्रारम्भिक सूचीमै बस्न अस्वीकार गरेपछि उनको सट्टामा अर्को नाम पहिल्यै पठाइसकिएको एमालेले जनाएको छ ।