सिन्धुली एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ : करिब २ करोड ६९ लाख रुपियाँ बरामद

काठमाडौँ, माघ २ । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबिआई बैंकको शाखा कार्यालयमा भएको लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण र पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार गत पुस २९ गते साँझ ७:३० बजे बैंकका कर्मचारी र सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर लुटपाट भएको थियो । बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटिएकोमा प्रहरीले २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गर्न सफल भएको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको बनेपा नगरपालिका–१० का सुमो चालक ४९ वर्षीय भागवतसिंह थापा, सिन्धुली घ्याङलेख–२ का ४७ वर्षीय चतुरमान बज्यु, सोही ठाउँका ४४ वर्षीय छविलाल स्याङ्तान, चितवनका २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्याका २३ वर्षीय मिलन गिरी र १९ वर्षीय विवेक मगर रहेका छन् । पक्राउ पर्नेमा एक जना नाबालक समेत रहेका छन् भने घटनामा संलग्न अर्का एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

लुटेरा समूहले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई खुकुरी प्रहार गरी घाइते बनाएर कर्मचारीहरूलाई नियन्त्रणमा लिएका थिए । लुटपाटपछि उनीहरू बनेपाबाट ‘विवाहका लागि’ भनी रिजर्भ गरिएको बा १ ज ०३९८ नम्बरको टाँटा सुमो चढेर फरार भएका थिए । घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा शंकास्पद अवस्थामा भेटिएको सुमो र त्यसका चालकसँगको सोधपुछका आधारमा प्रहरीले अन्य अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले अभियुक्तहरूको साथबाट लुटिएको नगदका साथै घटनामा प्रयोग भएका दुई थान खुकुरी, एक थान प्लास्टिकको पेस्तोल, पाँच थान मोबाइल, नकाब, पञ्जा र टेप लगायतका सामग्री बरामद गरेको छ ।

पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । फरार रहेका अर्का एक अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।