उम्मेदवारी मनोनयनको मिति सार्ने तयारी, दलहरूद्वारा आयोगलाई आग्रह
काठमाडौँ, ४ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिकामा केही हेरफेर हुने देखिएको छ ।
प्रमुख राजनीतिक दलहरूले उम्मेदवारी मनोनयनको समयसीमा कम्तीमा एक साता थप गर्न आग्रह गरेपछि निर्वाचन आयोगले यसबारे आन्तरिक तयारी सुरु गरेको हो ।
विशेष गरी नेपाली कांग्रेसभित्र चर्किएको आधिकारिकता विवाद र कानुनी लडाइँका कारण मनोनयन प्रक्रिया प्रभावित हुने देखिएपछि दलहरूले समय सार्न माग गरेका हुन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष आजै सर्वोच्च अदालत पुगेको छ । यो विवाद नटुङ्गिँदासम्म उम्मेदवार चयनमा जटिलता देखिएको दलहरूको तर्क छ ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले माघ ६ गतेदेखि सुरु हुने भनिएको मनोनयन दर्तालाई सारेर माघ १५ देखि मसान्तसम्म पुर्याउन आग्रह गरेका छन् ।
यसअघि सार्वजनिक गरिएको कार्यतालिका अनुसार माघ ६ गतेदेखि मनोनयन दर्ताको कार्यक्रम थियो । तर, प्रमुख दलहरू नै आन्तरिक तयारी र उम्मेदवार टुङ्गो लगाउने प्रक्रियामा अल्झिएपछि आयोग दबाबमा परेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दलहरूको प्रस्तावमाथि छलफल भइरहेको तर अहिलेसम्म औपचारिक निर्णय भइनसकेको जानकारी दिए ।