एमाले बागमतीको विशेष चुनावी अभियान सुरु, भृकुटीमण्डपमा शक्ति प्रदर्शनसहित निर्वाचन केन्द्रित रणनीति

काठमाडौँ, ४ माघ । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘विशेष चुनावी अभियान’ को औपचारिक सुरुवात गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित भव्य जनप्रदर्शन र राष्ट्रिय सभागृहको सभाबाट एमालेले निर्वाचन केन्द्रित आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

भृकुटीमण्डपबाट सुरु भएको जनप्रदर्शनमा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका १३ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । र्‍यालीपछि राष्ट्रिय सभागृहमा आयोजित विशेष सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्दै आसन्न निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन् ।

एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले पार्टी अब पूर्ण रूपमा चुनावी अभियानमा होमिएको बताउनुभयो । “हामी निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्र गतिमा लागेका छौँ,” बस्नेतले भन्नुभयो, “बागमती प्रदेशमा एमालेको पक्षमा अभूतपूर्व लहर सिर्जना गर्न यो अभियानले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

यसअघि एमालेको राजधानी विशेष कमिटीले पनि आफ्नो कमिटी घोषणासहित चुनावी गतिविधि सुरु गरिसकेको छ । बागमती प्रदेशमा आफ्नो पकड बलियो बनाउन एमालेले टोल र वडा तहसम्मै कार्यकर्ता परिचालन गर्ने गरी यो विशेष अभियान सञ्चालन गरेको जनाइएको छ ।

निर्वाचन आउन करिब डेढ महिना बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेशलाई विशेष प्राथमिकतामा राखेर आफ्ना साङ्गठनिक गतिविधिहरूलाई तीव्रता दिएको हो ।