निर्वाचनसम्बन्धी जिज्ञासा सुन्न आयोगको ‘कल सेन्टर’ सुरु, ११०२ मा निःशुल्क फोन गर्न सकिने
काठमाडौं, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मतदाता र सरोकारवालाका निर्वाचनसम्बन्धी जिज्ञासा एवं प्रश्नहरूको तत्काल समाधान गर्ने उद्देश्यले आयोगले यो सेवा सुरु गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनसम्बन्धी कुनै पनि जानकारी वा स्पष्टता चाहिएमा जोकोहीले पनि टोल फ्री नम्बर ११०२ मा निःशुल्क सम्पर्क गर्न सक्नेछन्। कल सेन्टर व्यवस्थापनका लागि आयोगले हाल ६ वटा डेस्क स्थापना गरेको छ। मतदाताको चाप र सोधपुछको अवस्था हेरेर डेस्कको संख्या थप गर्न सकिने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
कल सेन्टर सुरु भएलगत्तै पहिलो फोन गण्डकी प्रदेशबाट आएको थियो। ती व्यक्तिको जिज्ञासा ‘निर्वाचन आचारसंहिता लागेका कारण पहिले नै तोकिएको लोकसेवा आयोगको परीक्षा प्रभावित हुन्छ कि हुँदैन?’ भन्ने थियो। कल सेन्टरका अधिकारीहरूले पहिले नै तालिका सार्वजनिक भइसकेका परीक्षाहरू आचारसंहिताले नरोकिने भन्दै ती मतदाताको संशय मेटाएका थिए।
आयोगका अनुसार यो कल सेन्टर प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आजदेखि सुरु भएको यो सेवा निर्वाचनको अन्तिम परिणाम घोषणा भई उम्मेदवारहरूले विजयी प्रमाणपत्र नपाउँदासम्म निरन्तर रहने आयोगले जनाएको छ।
यसअघि पनि निर्वाचनका समयमा आयोगले यस्तो सेवा सञ्चालन गर्दै आएको थियो, जसले निर्वाचनसम्बन्धी भ्रम चिर्न र आधिकारिक सूचना प्रवाह गर्न सघाउ पुर्याउने विश्वास गरिएको छ।