मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
काठमाडौँ, माघ ५ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज दिउँसो पोखराबाट नियन्त्रणमा लिएको छ । निर्वाचन आयोगको मानहानी र भ्रामक प्रचार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार प्रसाईंविरुद्ध काठमाडौँमा मुद्दा दर्ता रहेकाले उनलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । “उहाँको मुद्दाको प्रक्रिया काठमाडौँबाट अघि बढेकाले आवश्यक कारबाहीका लागि उतै पठाउन लागिएको हो,” कार्कीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको एक पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपियाँ बुझाएको भनी प्रसाईंले भ्रामक दाबीसहितको भिडियो सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको थियो । उक्त आधारहीन आरोपले संस्थाको गरिमामा आँच पुर्याएको ठहर गर्दै निर्वाचन आयोगले गत आइतबार प्रसाईंलाई कारबाही गर्न प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको थियो ।
आयोगको निर्देशन र साइबर अपराधसम्बन्धी अनुसन्धानका सिलसिलामा प्रहरीले उनलाई पोखरामा फेला पारी नियन्त्रणमा लिएको हो । उनलाई आजै काठमाडौँ ल्याएर साइबर ब्यूरोमार्फत कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।