सर्लाहीमा भारतीय नम्बरको मोटरसाइकलमा गाँजा तस्करी : सिटमुनि लुकाएर लैजाँदै गर्दा ८ किलो गाँजासहित दुई पक्राउ

सर्लाही, ८ माघ । सर्लाही प्रहरीले ठूलो परिमाणको अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा गरिएको नियमित सवारी चेकजाँचका क्रममा ७ किलो ८०० ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार पक्राउ पर्नेमा: निलेश मण्डल (१९ वर्ष): कौडेना गाउँपालिका–१ र शेष मोफिज (३२ वर्ष): चक्रघट्टा गाउँपालिका–३का रहेका छन् ।

प्रहरी टोलीले भारतीय नम्बर प्लेट भएको बिआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलको सिटलाई विशेष किसिमले परिमार्जन गरी त्यसभित्र रातो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा गाँजा फेला परेको डीएसपी राईले जानकारी दिनुभयो।

प्रहरीले गाँजा, मोटरसाइकल र दुवै अभियुक्तलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका मण्डल र मोफिज विरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।