निर्वाचन आयोगको तयारी तीव्र: फागुनको पहिलो साताभित्रै सबै जिल्लामा मतपत्र पुग्ने, प्रत्यक्षतर्फको छपाइ भोलिदेखि

काठमाडौँ, ८ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो तयारीलाई तीव्रता दिएको छ ।

आयोगले फागुनको पहिलो हप्ताभित्रै देशका सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइसक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भोलि (माघ ९ गते) उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेलगत्तै प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु हुनेछ ।

प्रवक्ता भट्टराईले माघ महिनाभित्रै प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गर्ने र फागुनको पहिलो साताभित्रै ढुवानी गरिसक्ने जानकारी दिनुभयो । यता समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने अन्तिम चरणमा पुगेको छ । कुल २ करोड मतपत्रमध्ये १ करोड ५० लाख छापिसकिएको र बाँकी ५० लाख मतपत्र छिट्टै तयार हुने आयोगले जनाएको छ ।

निर्वाचनका लागि आवश्यक कुल ५१ प्रकारका सामग्रीमध्ये ३७ वटा सामग्री सम्बन्धित जिल्लाबाटै खरिद गर्ने व्यवस्था मिलाइएको छ । बाँकी रहेका १४ प्रकारका मुख्य सामग्रीहरू माघको तेस्रो हप्ताभित्र आयोगले प्राप्त गर्ने र त्यसलाई खण्ड-खण्ड बनाएर जिल्लाहरूमा ढुवानी गरिने प्रवक्ता भट्टराईको भनाइ छ ।

निर्वाचनको स्वच्छ सफा वातावरण कायम राख्न आयोगले सामाजिक सञ्जालमा फैलिने गलत सूचना र भ्रमपूर्ण सामग्रीको नियमनलाई तीव्रता दिएको छ ।