उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै, साँझसम्ममा सबैले पाउनेछन् चुनाव चिह्न

काठमाडौँ, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका अनुसार आज (शुक्रबार) उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिँदैछ। निर्वाचन आयोगका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम अवसर समेत रहेको छ।

यस्ताे छ तालिका
बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म: उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारका लागि समय।
दिउँसो १:०० देखि ३:०० बजेसम्म: उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन।
अपराह्न ४:०० देखि साँझ ७:०० बजेसम्म: उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान।

यही माघ ६ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा भएको मनोनयन दर्ताका क्रममा कुल ३,४८६ जनाको उम्मेदवारी परेको छ। आयोगका अनुसार आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिनेहरूको सङ्ख्या घटेपछि मात्रै चुनावी प्रतिस्पर्धामा रहने उम्मेदवारको वास्तविक सङ्ख्या टुङ्गो लाग्नेछ।

आयोगले माघ ७ र ८ गते उम्मेदवार विरुद्ध परेका उजुरी र दाबी–विरोधमाथि छानबिन गरी हिजो बेलुका नै उम्मेदवारको नामावली प्रकाशन गरिसकेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनमार्फत २७५ सदस्यीय प्रतिनिधिसभाका लागि सदस्यहरू चयन हुनेछन्। जसमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

आज साँझ चुनाव चिह्न प्राप्त गरेसँगै उम्मेदवारहरू औपचारिक रूपमा प्रचारप्रसारमा लाग्न पाउनेछन्। निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्न र मर्यादित ढङ्गले चुनावी गतिविधि सञ्चालन गर्न सबै दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ।