देशभरबाट ४९ जनाले फिर्ता लिए उम्मेदवारी, एक जनाको मनोनयन खारेज

काठमाडौँ, ९ माघ । आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये देशभरबाट ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ताको पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो ।

प्रवक्ता भट्टराईका अनुसार देशभर कुल ३ हजार ४८७ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये निर्धारित समयभित्र ४९ जनाले आफ्नो नाम फिर्ता लिएको आयोगले जनाएको छ ।

यसैगरी, उम्मेदवारहरूविरुद्ध परेको दाबी–विरोधको छानबिनसमेत सम्पन्न भएको छ । कुल ५ जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा छानबिनपछि एक जनाको उम्मेदवारी खारेज भएको र अन्य ४ जनाको मनोनयन भने यथावत् रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

मनोनयन फिर्ता र उजुरी उपरको निर्णयपछि अब चुनावी मैदानमा रहेका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगले गरेको छ । निर्वाचन कार्यतालिका अनुसार अब उम्मेदवारहरूलाई चुनावी चिह्न प्रदान गर्ने प्रक्रिया अघि बढ्नेछ ।