गृह मन्त्रालयको ‘नक्कली अधिकृत’ बनेर ठगी गर्ने कृष जिसी पक्राउ, निजामती पोसाकमै अध्यागमन पुगेपछि…

काठमाडौँ, ९ माघ । आफूलाई गृह मन्त्रालयको शाखा अधिकृत भएको दाबी गर्दै नक्कली परिचयपत्र देखाएर ठगी गर्ने एक व्यक्तिलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। तनहुँ घर भएका कृष जिसीलाई विभागले पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको हो।

निजामती पोसाकमै अध्यागमन पुगेपछि खुल्यो रहस्य
आफूलाई सक्कली अधिकृत देखाउन जिसी शुक्रबार निजामती कर्मचारीको औपचारिक पोसाकमै अध्यागमन विभाग पुगेका थिए। उनले आफू लोकसेवाको ३७औँ ब्याचको शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत रहेको झुटो विवरण दिएका थिए।

विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालका अनुसार जिसीको परिचयपत्रमा उल्लेखित ‘कर्मचारी सङ्केत नम्बर’ अस्वाभाविक र शङ्कास्पद देखिएपछि विभागको इन्टेलिजेन्स र प्रशासन शाखाले छानबिन गरेको थियो। सो क्रममा उनी नक्कली भएको पुष्टि भएपछि तत्काल नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा जिसीले विगत ७ महिनादेखि गृहको नक्कली अधिकृत बनेर काठमाडौँको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाएको खुलेको छ। एक महिलाले होटल व्यवसायीलाई ठगी गरी फरार भएको विषयमा होटलका बाउन्सरहरूले सहयोग मागेपछि जिसी उनीहरूलाई लिएर अध्यागमन विभाग पुगेका थिए।

उनले ती महिलालाई अध्यागमनको ‘कालोसूची’ (ब्ल्याक लिस्ट) मा राखिदिने र वैदेशिक भ्रमण रोक्का गरिदिने प्रलोभन देखाएका थिए। विभाग पुगेपछि उनले ती महिलाको नाममा रहेको नागरिकता र राहदानीको प्रतिलिपि माग गर्दै उनलाई वैदेशिक उडानमा प्रतिबन्ध लगाउन दबाब दिएका थिए।

पर्यटन मन्त्रालयको पनि नक्कली अधिकृत
पक्राउ परेका जिसीले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको नक्कली परिचयपत्र समेत बनाएर मानिसहरूलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अध्यागमन विभागले जिसीलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको छ। उनीसँगै आएका होटलका बाउन्सरलाई भने सामान्य सोधपुछपछि छाडिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो। प्रहरीले जिसीविरुद्ध सरकारी कागजात किर्ते र ठगी मुद्दामा अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।