प्रतिनिधिसभा निर्वाचन: आयोगले सार्वजनिक गर्यो उम्मेदवारको व्यक्तिगत विवरण, वेबसाइटमा पनि हेर्न सकिने
काठमाडौँ, १० माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण (बायोडाटा) सार्वजनिक गरेको छ।
निर्वाचन प्रक्रियालाई थप पारदर्शी र मर्यादित बनाउन आयोगले यो कदम चालेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२’ को कानुनी व्यवस्था बमोजिम उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्दा पेस गरेका विवरणहरूलाई सार्वजनिक गरिएको हो।
निर्वाचन प्रक्रियालाई निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाउन उम्मेदवारको पृष्ठभूमि र व्यक्तिगत विवरण सार्वजनिक गर्नु आवश्यक रहेको आयोगको ठहर छ। “यसले मतदाता, सञ्चारमाध्यम, नागरिक समाज र आम सर्वसाधारणलाई उम्मेदवारका बारेमा आधिकारिक जानकारी प्राप्त गर्न सहज हुनेछ,” प्रवक्ता भट्टराईले भन्नुभयो।
विवरण सार्वजनिक भएपछि मतदाताले आफूले मतदान गर्न लागेको उम्मेदवारको योग्यता, अनुभव र अन्य व्यक्तिगत विवरणका बारेमा थाहा पाउन सक्नेछन्, जसले सही उम्मेदवार छनोट गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
आयोगले सबै उम्मेदवारहरूको विवरण आफ्नो आधिकारिक वेबसाइट (www.election.gov.np) मार्फत प्रकाशन गरेको छ। इच्छुक जोसुकैले वेबसाइटमा गएर सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारहरूको वैयक्तिक विवरण हेर्न र अध्ययन गर्न सक्नेछन्।
आयोगले मनोनयन दर्ता भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएलगत्तै यो विवरण सार्वजनिक गरेको हो। प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना मात्र बाँकी रहँदा आयोगले आफ्ना तयारीलाई तीव्र बनाएको छ।