शेयर बजारमा नेप्से ५७ अंकले बढ्दा १३ अर्ब ७८ करोडको कारोबार, ९ कम्पनीमा ‘सकारात्मक सर्किट’
काठमाडौं, ११ माघ । साताको पहिलो कारोबार दिन नै धितोपत्र बजार (नेप्से) मा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो हप्ताको अन्तिम दिन सामान्य अंकले बढेको बजार आइतबार २ प्रतिशतभन्दा बढीले बढेर बन्द भएको हो।
आज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको छ। नेप्से परिसूचकमै आएको उछालसँगै कारोबार रकममा पनि ठूलो वृद्धि देखिएको छ।
बिहीबार ९ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम साढे १३ अर्ब नाघेको छ। आइतबार ३३१ कम्पनीको १ लाख ३३ हजार ५२९ पटकको कारोबारमा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँ बराबरको ३ करोड ९ लाख १५ हजार कित्ता शेयर किनबेच भएको छ।
९ स्टकमा सकारात्मक सर्किट
आजको बजारमा ९ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई ‘सकारात्मक सर्किट’ लागेको छ। सर्किट लाग्ने कम्पनीहरूमा: एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत, त्रिशुली जलविद्युत रहेका छन् ।
यसका साथै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यस्तै, ग्रीन भेन्चर्सको साढे ३९ करोड र शिवम् सिमेन्ट्सको ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेर बजार उत्साहजनक देखिएको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशतले बढेको छ। यस्तै जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ।
बजार उच्च अंकले बढ्दा पनि १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ को मूल्य भने ५.८० प्रतिशतले घटेको छ।