जाडो छल्न बेँसी झरेका बाजुराका मतदातालाई चुनावमा सहभागी हुन सकस
बाजुरा, १२ माघः अत्यधिक चिसोबाट बच्न गाउँ छोडेर बेँसी (तल्लो भेग) झरेका यहाँका आदिवासी जनजाति समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न कठिनाइ हुने देखिएको छ ।
हिउँदयामको जाडो छल्न गत मङ्सिर महिनादेखि नै भेडाबाख्रासहित बेँसी झरेका उनीहरू आगामी चैतमा मात्र गाउँ फर्किने भएकाले मतदान प्रक्रियामा सहभागी हुन अन्योल सिर्जना भएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ बाजुराका पूर्वअध्यक्ष नृपबहादुर थापा (भोटे) का अनुसार, मौसमी बसाइँसराइ गर्ने करिब पाँच सयभन्दा बढी परिवार अहिले गाउँ बाहिर छन् । उनीहरूलाई गाउँ फर्किएर मतदान गर्न व्यावहारिक समस्या पर्ने उहाँको भनाइ छ ।
विशेषगरी जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, ७, ८ र ९ तथा हिमाली गाउँपालिका–२ र ३ का बासिन्दाहरू चिसो छल्न अस्थायी रूपमा अन्यत्र गएका छन् । हाल अस्थायी बसोबासका लागि डोटीको सानागाउँ पुग्नुभएका मतदाता जगत थापा (भोटे) ले मतदानकै लागि गाउँ फर्किन समस्या रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामी चारै जनाको परिवार यतै छौँ, भोट हाल्न गाउँ जान एक हप्ताभन्दा बढी समय लाग्छ ।”
यस विषयमा प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले बाहिर रहेका मतदातालाई मतदानका लागि गाउँ फर्किन अभिप्रेरित गरिने बताउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर शाहीका अनुसार जिल्लाभर ७७ मतदानस्थल र ११८ मतदान केन्द्र निर्धारण गरिएको छ । आगामी निर्वाचनमा जिल्लाका कुल ८७ हजार ८६१ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसमा ४१ हजार ६१८ महिला र ४६ हजार २४३ पुरुष रहेका छन् ।