ओखलढुङ्गामा मगर दम्पतीपछि राई दम्पतीको बीभत्स हत्या, गाउँ त्रासमा

ओखलढुङ्गा, १३ माघ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ। सोही वडामा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै गएराति राई दम्पतीको हत्या भएको हो।

हत्या हुनेमा बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राई रहेका छन्। स्थानीय बजारमा पसल सञ्चालन गर्दै आएका उनीहरूको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार घरको दोस्रो तलाको कोठामा श्रीमानको शव खाटमा र श्रीमतीको शव खाट नजिकै भुइँमा फेला परेको थियो। दुवै शव सिरक ओढेको अवस्थामा भेटिएका थिए।
घटनाबारे मंगलबार बिहान ७ः४० बजे प्रहरी चौकी निशङ्खेमा जानकारी आएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन केसीले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनले भने, “घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।”

शृङ्खलाबद्ध हत्याले स्थानीय त्रसित
यसअघि गत पुस १५ गते सोही वडाको भदौरेस्थित गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या भएको थियो। त्यसअघि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या भएको थियो।

अघिल्ला घटनामा संलग्न भएको आरोपमा प्रहरीले मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तर, लगत्तै उस्तै प्रकृतिमा अर्को हत्या काण्ड भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

शृङ्खलाबद्ध रूपमा भइरहेका यस्ता घटनाले गाउँघरमा सुरक्षा चुनौती थपिएको भन्दै स्थानीयले दोषीलाई तत्काल पत्ता लगाई कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।