बाक्लो हिमपातले बैतडी र बागलुङका उच्च पहाडी क्षेत्र सेताम्मे : जनजीवन प्रभावित
बैतडी, १४ माघ । मुलुकका विभिन्न उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा बाक्लो हिमपात भएको छ । सुदूरपश्चिमको बैतडी र गण्डकी प्रदेशको बागलुङमा बुधबार बिहानैदेखि भएको हिमपातले जनजीवन प्रभावित बने पनि किसानहरूमा भने खुसीयाली छाएको छ ।
बैतडीका उच्च भेगहरू सिगास, खोडपे, अनारखोली र ढोल्यामोड क्षेत्रमा बिहानैदेखि बाक्लो हिउँ परेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
हिमपातले चिसो बढाए पनि गहुँलगायतका हिउँदे बाली सप्रिने आशामा किसानहरू उत्साहित देखिएका छन् । स्थानीय राजबहादुर टेरका अनुसार लामो खडेरीपछि हिउँ परेकाले यस वर्ष अन्न उत्पादन बढ्नेमा किसानहरू ढुक्क देखिएका छन् ।
यता, बागलुङको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकासहित आसपासका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि सुरु भएको बाक्लो हिमपातका कारण ढोरपाटन उपत्यका हिउँले सेताम्मे भएको छ ।
अत्यधिक चिसोका कारण ढोरपाटन क्षेत्रका धाराहरूमा पानी जम्न थालेको छ । हिमपात निरन्तर भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न र पशुचौपाया चराउन कठिन भएको छ । ढोरपाटनका साथै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला र निसेलढोर लगायतका स्थानमा पनि बाक्लो हिउँ जमेको छ ।
बागलुङका उच्च भेगका किसानहरूले पनि हिमपातलाई बालीका लागि ‘वरदान’ मानेका छन् । हिउँले जमिनमा चिस्यान कायम राख्ने हुँदा हिउँदे बाली सप्रिनेमा उनीहरू विश्वस्त छन् ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन पहाडी तथा हिमाली भेगमा बदली र हिमपातको सम्भावना रहेको जनाउँदै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।