विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारको निधन

एजेन्सी, १४ माघ । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा परी निधन भएको छ। बुधबार बिहान बारामती विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनामा पवारसहित पाँच जनाको ज्यान गएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान रनवे नजिकै दुर्घटनाग्रस्त भई आगलागी भएको थियो। पवारका निजी सहायक अनिल ढिकलेले घटनाको पुष्टि गर्दै दुर्घटनामा उपमुख्यमन्त्रीसहित दुई पाइलट र दुई सहयोगीको मृत्यु भएको जानकारी दिएका छन्।

६६ वर्षीय पवार महाराष्ट्रको राजनीतिमा एक प्रभावशाली व्यक्तित्व मानिन्थे। उनी जिल्ला परिषद् निर्वाचनका सन्दर्भमा बारामती क्षेत्रमा आयोजना गरिएका चारवटा चुनावी सभालाई सम्बोधन गर्न गइरहेका बेला यो दुःखद घटना भएको हो।

पवारको निधनले महाराष्ट्रको राजनीतिमा ठूलो क्षति पुगेको विश्लेषण गरिएको छ। उनी लामो समयदेखि राज्यको विकास निर्माण र योजना तर्जुमामा सक्रिय भूमिकामा थिए। दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।