निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ, १४ माघ । निर्वाचन आयोगले हालै सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजासहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

यही माघ ११ गते रिक्त राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन सम्पन्न भएको थियो । प्रतिवेदन बुझाउने कार्यक्रममा निर्वाचन आयुक्तहरू सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, आयोगका सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।