पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । रुघा, खोकी र ज्वरोलगायतको समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित अस्पतालमा भर्ना गरिएको हो ।

नेता नेपाललाई बुधबार स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनलाई ज्वरो र रुघाखोकीसँगै सास फेर्न गाह्रो हुने (घ्यार–घ्यार) समस्या देखिएको छ ।

शिक्षण अस्पतालमा क्याबिन उपलब्ध नभएपछि उनलाई सोही परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सारिएको छ । यद्यपि, उनको उपचार भने शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा भइरहेको जनाइएको छ ।