सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको बाक्लो हिउँ, दर्शनार्थीलाई दर्शन र स्नान गर्न सहज
मुस्ताङ, १६ माघ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ मन्दिरमा थुप्रिएको बाक्लो हिउँ सशस्त्र प्रहरीले पन्छाएको छ । मङ्गलबार राति भएको भारी हिमपातका कारण मन्दिर परिसर र सिँढीहरू हिउँले ढाकिएपछि दर्शनार्थीहरूलाई हिँडडुल गर्न र पूजापाठ गर्न सास्ती भएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल, ३३ नं. गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज गिरीको नेतृत्वमा खटिएको टोलीले शुक्रबार मन्दिर परिसरको हिउँ सफा गरेको हो ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार भारी हिमपातका कारण मन्दिर परिसर र त्यहाँसम्म पुग्ने रेलिङसहितको सिँढी मार्गमा दुई फिटसम्म हिउँ जमेको थियो । “बाक्लो हिउँका कारण दर्शनार्थीहरू चिप्लिएर लड्ने र दुर्घटना हुने जोखिम थियो,” उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छाएपछि अहिले तीर्थयात्रीहरूलाई आवतजावतमा निकै सहज भएको छ ।”
सशस्त्र प्रहरीले मन्दिरको मूल परिसर, १०८ धारा क्षेत्र, स्नानकुण्ड र रेलिङ मार्गमा जमेको हिउँ पूर्ण रूपमा हटाएको डीएसपी गिरीले जानकारी दिनुभयो ।
हिमपातका कारण अवरुद्ध बनेको कागबेनी–मुक्तिनाथ सडकखण्ड पनि शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ । जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा कोरला सडक आयोजनाको डोजर प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएको हो । सडक सुचारु भएसँगै सवारीसाधनहरू मन्दिरसम्म पुग्न थालेका छन् ।
प्रतिकूल मौसम र अत्यधिक चिसोका बाबजुद सुरक्षाकर्मीहरूले गरेको यो कार्यको स्थानीय बासिन्दा र पर्यटकहरूले प्रशंसा गरेका छन् ।