श्रीमतीको हत्या गरी श्रीमानद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
काठमाडौँ, माघ १६ । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ३० वर्षीय विनोद तामाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको चिर्पट प्रहार गरी हत्या गरेको स्वीकार गर्दै प्रहरीमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार आज बिहान करिब ६ः०० बजे घरायसी विवादका क्रममा तामाङले श्रीमतीलाई चिर्पटले प्रहार गरेका थिए । घटनालगत्तै तामाङ आफैँ प्रहरी चौकी टीकाभैरव पुगेर सोबारे जानकारी गराएका थिए ।
सूचना अधिकारी मिश्रले भन्नुभयो, “अभियुक्तका अनुसार घटनाको समयमा दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए र विवाद बढ्दै जाँदा उनले चिर्पट प्रहार गरेको स्वीकार गरेका छन् ।”
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँकी प्रहरी नायब उपरीक्षक शिला थापाको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर लास जाँच मुचुल्कासहित प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ ।
मृतकको शव परीक्षणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले अभियुक्त तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।