तनहुँमा तीन जनाको सामूहिक हत्या अभियोगमा एक जना पक्राउ : सात दिनको म्याद थप

काठमाडौँ, माघ १६ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा भएको तीन जनाको बीभत्स हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्की घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ मा बस्दै आएका ४६ वर्षीय कुमार नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अभियुक्त नेपालीविरुद्ध बिहीबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले अभियुक्तविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले निजको साथबाट हत्यामा प्रयोग भएको चक्कु, चप्पल, सल तथा घटनाको समयमा प्रयोग गरिएका लुगाकपडाहरू बरामद गरेको छ ।

गत पुस २६ गते बिहान साढे ९ बजेको समयमा शुक्लागण्डकी-५ स्थित सेती नदीको कसेरीघाटमा तीन जनाको शव फेला परेको थियो । फोहोर प्रशोधन केन्द्र नजिकै फेला परेका मृतकहरूमा शुक्लागण्डकी नगरपालिका-११ का ३९ वर्षीय नारायण विक र भिमाद नगरपालिका-८ की ५८ वर्षीया देउमाया थापा रहेका छन् । अर्का एक अन्दाजी ५५ वर्षीय पुरुषको भने हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

घटनाको गाम्भीर्यतालाई दृष्टिगत गर्दै अनुसन्धानका लागि तालिमप्राप्त कुकुरका साथै गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विशेषज्ञ टोली परिचालन गरिएको थियो । प्रहरीका अनुसार पहिचान हुन नसकेका पुरुषको शव सनाखतका लागि हुलिया परिपत्र गरिएको र हाल शवलाई अस्पतालको शवगृहमा राखिएको छ । उनीमाथि सूक्ष्म रूपमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।