ललितपुरमा श्रीमतीको बीभत्स हत्या: चिर्पट प्रहार गरी हत्या गरेपछि श्रीमानले गरे प्रहरीसमक्ष आत्मसमर्पण

पाटन (ललितपुर), १६ माघ । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३० वर्षीय विनोद तामाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको चिर्पट प्रहार गरी हत्या गरेपछि आफैँ प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार आज (शुक्रबार) बिहान करिब ६ बजे श्रीमान्-श्रीमतीबीच सामान्य विवाद भएको थियो । सोही क्रममा आक्रोशित बनेका विनोदले घरमा रहेको दाउराको चिर्पटले कोपिलाको टाउकोमा प्रहार गरेका थिए । गम्भीर चोट लागेकी कोपिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि विनोद आफैँ प्रहरी चौकी टीकाभैरवमा पुगेर “मैले श्रीमतीको हत्या गरेँ” भन्दै जानकारी गराएका थिए । उनले प्रहरीसँगको बयानमा दुवै जनाले मादक पदार्थ सेवन गरेको र नसाकै सुरमा झगडा हुँदा आफूले आवेगमा आएर प्रहार गरेको स्वीकार गरेका छन् ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी टीकाभैरव र प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) शिला थापाको नेतृत्वमा विशेष टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

सूचना अधिकारी मिश्रका अनुसार अभियुक्त विनोद तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।