‘अप्रेशन ब्राभो शेरा’ मार्फत ११७ हतियार संकलन

काठमाडौँ, माघ २० । म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ स्थित झीँ गाउँको जङ्गलमा लुकाइराखिएको अवस्थामा दुई थान बेवारिसे भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको विशेष सूचनाका आधारमा पाखापानी प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार उक्त हतियार बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त बन्दुकहरू जङ्गलमा लुकाएर राख्ने र रातिको समयमा वन्यजन्तुको चोरीसिकारीका लागि प्रयोग हुने गरेको प्रारम्भिक अनुमान गरिएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले अवैध हतियार खोजतलास अभियानलाई तीव्रता दिएको हो ।

जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि जिल्लाभरका प्रहरी युनिटहरू परिचालन गरी इजाजत प्राप्त नगरेका हतियार बरामद गर्न ‘ब्राभो शेरा’ नामक विशेष अपरेसन सञ्चालन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाका अनुसार यस अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न स्थानबाट ११७ थान अवैध भरुवा बन्दुक संकलन भइसकेका छन् ।

  • रघुगङ्गा गाउँपालिका : ४८ थान (सोमबार बरामद भएका दुईसहित)

  • मालिका गाउँपालिका : २० थान

  • अन्नपूर्ण गाउँपालिका : १६ थान

  • मङ्गला गाउँपालिका : १४ थान

  • बेनी नगरपालिका : ११ थान

  • धवलागिरि गाउँपालिका : ६ थान

डीएसपी थापाले अवैध रूपमा हतियार राख्नु गैरकानुनी भएको उल्लेख गर्दै यस्ता हतियार भएमा स्वतःस्फूर्त रूपमा प्रहरीलाई बुझाउन वा खबर गर्न आग्रह गर्नुभएको छ। प्रचलित कानुनअनुसार अवैध हतियारसहित फेला परेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुने प्रावधान रहेको छ। बरामद गरिएका हतियारका सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।