सरकार नयाँ ‘जेलेन्स्की’ उत्पादन गर्ने खेलमा लाग्यो, लोकतन्त्रवादी शक्तिमाथि प्रहार भयो : नेता महेश बस्नेत
काठमाडौँ, २१ माघ । नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले वर्तमान सरकार लोकतन्त्रवादी शक्तिहरूलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको ‘उम्मेदवारसँग पत्रकार सम्मेलन’ मा बोल्दै नेता बस्नेतले सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षधर बनेर एमाले लगायतका स्थापित राजनीतिक शक्तिमाथि प्रहार गरिरहेको दाबी गर्नुभयो । उहाँले यस कार्यमा अन्तर्राष्ट्रिय शक्तिहरूको समेत संलग्नता रहेको जिकिर गर्नुभयो ।
निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै बस्नेतले सरकारले मतपरिणाम नै फेरबदल गर्ने योजना बुनिरहेको आरोप लगाउनुभयो । “निर्वाचन दुई चरणमा गर्ने चर्चा चलाएर भित्रभित्रै नतिजा उल्ट्याउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “सरकार कसैको खास एजेण्डा स्थापित गराउन निर्वाचनलाई प्रयोग गर्न लागिपरेको छ ।”
नेता बस्नेतले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाहको चुनावी प्रचारप्रसार र मत माग्ने कार्यका लागि उहाँकी श्रीमतीसँग ‘सिभिल ड्रेस’ मा प्रहरी खटाइएको दाबी गर्नुभयो । सरकारले राज्यका संरचनाहरूलाई ‘हाइज्याक’ गरेर समाजमा भयको वातावरण सिर्जना गरेको उहाँको भनाइ थियो ।
नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई टिप्पणी गर्दै उहाँले भन्नुभयो, “नेपालमा नयाँ ‘जेलेन्स्की’ उत्पादन गर्ने प्रयत्न भइरहेको छ । गलत प्रवृत्तिका विरुद्ध बोल्न नसक्ने गरी संरचनात्मक कब्जा गर्ने अभियान चलाइएको छ ।”
एमालेको चुनावी रणनीतिका बारेमा स्पष्ट पार्दै सचिव बस्नेतले पार्टीले हालसम्म कुनै पनि दलसँग औपचारिक गठबन्धन नगरेको बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्य दलका नेताहरूसँग गरिरहेको भेटघाट चुनावी तालमेलका लागि नभई वर्तमान राष्ट्रिय समस्याबारे साझा धारणा बनाउनका लागि मात्र भएको उहाँले प्रस्ट पार्नुभयो ।
काठमाडौँ उपत्यकाको चुनावी परिणामबारे दाबी गर्दै उहाँले भन्नुभयो, “भदौ २३ र २४ गतेका घटनाले उपत्यकाका मतदातालाई देश जलाउने शक्ति चिन्न मद्दत पुगेको छ । यस पटक उपत्यकाका १५ सिटमध्ये कम्तीमा १० सिटमा एमाले विजयी हुनेछ ।”