रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा बालिकाको मृत्यु: उम्मेदवार र चालक फरार
रौतहट, २२ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सवार सवारी साधनको ठक्करबाट एक बालिकाको करुण मृत्यु भएको छ। ईशनाथ नगरपालिका–४, मठिया टोलमा बिहीबार दिउँसो भएको उक्त दुर्घटनामा ४ वर्षीया बालिका अलसा खातुनको ज्यान गएको हो।
मृतक अलसा स्थानीय शेख साजिरकी छोरी हुन्। रास्वपाका उम्मेदवार सगिर आलम चुनावी प्रचारप्रसारका क्रममा सवार रहेको बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिए लगत्तै उम्मेदवार आलम र गाडीका चालक दुवै घटनास्थलबाट फरार भएका छन्। प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ भने फरार उम्मेदवार र चालकको खोजी तीव्र पारिएको जनाएको छ।
बालिकाको मृत्युपछि स्थानीयले केही समय घटनास्थलमा विरोध प्रदर्शन गरेका थिए। प्रहरी स्रोतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने छ।