सिंहदरबारमा आगजनी गरेर भिडिओ अपलोड गर्ने महेन्द्र गौतम ५ महिनापछि पक्राउ, म्याद थप गरेर अनुसन्धान सुरु
काठमाडौँ, २२ माघ । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र पसेर आगजनी गर्ने र सो कार्यको भिडिओ सामाजिक सञ्जालमा राखेर गर्व गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको पाँच महिनापछि चितवनका महेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्राप्त भिडिओ र अन्य प्राविधिक प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका गौतम चितवनको खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगरमा बस्दै आएका थिए। भदौ २४ को आन्दोलनका क्रममा सिंहदरबारमा भएको तोडफोड र आगजनीमा उनको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीको दाबी छ।
गौतमले आन्दोलनकै दिन सामाजिक सञ्जालमा एउटा भिडिओ अपलोड गरेका थिए। जसमा उनले भनेका थिए– “सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौँ।” सोही भिडिओलाई मुख्य प्रमाणका रूपमा लिएर प्रहरीले उनको खोजी गरिरहेको थियो।
प्रहरीले गौतममाथि ‘आपराधिक उपद्रव’ को कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको र थप अनुसन्धानका लागि ५ दिनको म्याद प्राप्त भएको एसपी भट्टराईले जानकारी दिनुभयो।
‘जेनजी’ आन्दोलनका क्रममा सिंहदरबार क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो। प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइरहेको र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने जनाएको छ।