बैतडी बस दुर्घटना: मृतकका परिवारलाई १ लाख राहत, घाइतेको निःशुल्क उपचार गर्ने सुदूरपश्चिम सरकारको निर्णय
कैलाली, २३ माघ । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले दुर्घटनामा परी घाइते भएकाहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ । घाइतेहरूको सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै व्यहोर्ने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
बिहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ फर्किँदै गरेको सु–प–प्र–०२–००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७, बडगाउँमा दुर्घटनामा परेको थियो । सो भयावह दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
दुर्घटनामा घाइते भएका ३५ जनाको अहिले विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जन्ती बोकेको बस दुर्घटनामा परेपछि सुदूरपश्चिम प्रदेशभर शोक छाएको छ । प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।