महाशिवरात्रि तयारी तीव्र: १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौँ, २५ माघ । आगामी महाशिवरात्रि पर्व–२०८२ लाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको अध्यक्षतामा १७१ सदस्यीय ‘महाशिवरात्रि मूल समारोह समिति’ गठन गरिएको छ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री सिन्हाको नेतृत्वमा शनिबार सो समिति घोषणा गरिएको हो।

समितिमा काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्रअन्तर्गत पर्ने वडा नं. ८ को कार्यालय तथा अन्य विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ। यो समितिले पशुपति क्षेत्रमा शिवरात्रिको सम्पूर्ण व्यवस्थापकीय तयारीको नीतिगत नेतृत्व गर्ने कोषले जनाएको छ।

कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार मूल समारोह समितिको मातहतमा रहने गरी ९ वटा विषयगत उपसमितिहरू गठन गरिएका छन्। “महाशिवरात्रिको तयारीका लागि हामीले विभिन्न ९ वटा क्षेत्र तोकेर काम सुरु गरिसकेका छौँ,” प्रवक्ता जोशीले भन्नुभयो। यी उपसमितिहरूले आवास, भोजन, सरसफाइ, स्वास्थ्य र स्वयंसेवक परिचालन जस्ता कामहरू हेर्नेछन्।

महाशिवरात्रिका अवसरमा हुने सुरक्षा व्यवस्थालाई लिएर शुक्रबार नै सुरक्षा उपसमितिको विशेष बैठक सम्पन्न भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा पशुपतिनाथ दर्शन गर्न आउने लाखौँ भक्तजनहरूको सुरक्षा, ट्राफिक व्यवस्थापन र भीड नियन्त्रणका लागि एकीकृत सुरक्षा योजना लागू गर्ने विषयमा विस्तृत छलफल भएको छ। कोषले यस वर्ष अघिल्लो वर्षभन्दा धेरै भक्तजन आउने अनुमान गर्दै सोही अनुसारको तयारीलाई तीव्रता दिएको छ।